नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न
काठमाडौं, ९ फागुन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि र सहकार्य गर्ने सहमति भएको छ ।
बैठकमा नेपाल-पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियो । दुवै पक्षले जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार-विमर्श गरेका थिए ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गरेका थिए भने पोर्चुगलको तर्फबाट पोर्चुगलका परराष्ट्र तथा सहकार्य मामिला सचिव डा आना इसाबेल जेभियरले नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवं युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरेसहित दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।




