काठमाडौं, फागुन ४ । प्रतिनिधि सभा निर्वाचनको लागि भर्ना भएका निर्वाचन प्रहरीहरू तालिमपछि फिल्डमा खटाइएका छन्।
काठमाडौं उपत्यकासहित देशका विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरी परिचालन भएका छन्।
नेपाल प्रहरीले देशभरि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका भर्ति गर्न आवेदन खुलाएको थियो। केही जिल्लामा माग भन्दा कम संख्यामा आवेदन परेपछि तीन पटकसम्म पुनः आवेदन आह्वान गरिएको थियो।
त्यस्तै सशस्त्र प्रहरीले १५ हजार ११० जनाका लागि भर्ना खुलाएको थियो।
मतदानको दिन निर्वाचन प्रहरी सुरक्षाको पहिलो घेरामा खटिनेछन्। दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र र चौथो घेरामा नेपाली सेना खटिनेछन्।
निर्वाचन प्रहरीको कार्यावधि ४० दिनको तोकिएको छ।




