काठमाडौं, फाल्गुन ३ । उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने उल्लेख गरिएको हो ।
राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताउनु भयो । त्यसैगरी प्रदेश सभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । त्यसैगरी प्रदेश सरकारको स्थायित्वको लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको घोषणा पत्रमा समावेश गरिएको छ ।
संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढीमा सात सदस्यीय हुने पनि घोषणा पत्रमा समावेश गरिएको छ । राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि आफूहरूले प्रतिबद्धता पत्रमा समावेश गरेको अध्यक्ष घिसिङले बताउनु भयो ।
घोषणा पत्रमा अर्थतन्त्रको सुदृढीकरण र रोजगारीको अवसर सिर्जना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।




