भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्षद्वारा तत्काल राष्ट्रपति चुनाव नहुने घोषणा

`

     २०८२ माघ २९ गते १०:३९

काठमाडौँ, २८ माघ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले देशमा तत्काल नयाँ राष्ट्रपति चयनका लागि चुनाव नहुने स्पष्ट पारेका छन् । अमेरिकी सञ्चारमाध्यम न्यूजम्याक्सलाई दिएको अन्तर्वार्तामा उनले अहिलेको मुख्य प्राथमिकता चुनाव नभई देशमा स्थिरता र सरकारी संस्थाहरूको पुनर्संरचना भएको बताए ।

रोड्रिगेजका अनुसार भेनेजुएलाले हाल पुनःसंस्थानीकरणको चरण पार गरिरहेको छ, जसअन्तर्गत न्यायालय, सुरक्षा निकाय, प्रशासन र संवैधानिक संरचनालाई फेरि पूर्ण रूपमा कार्यक्षम र सर्वस्वीकार्य बनाउने प्रयास भइरहेको छ । अहिलेको आवश्यकता निर्वाचन नभएर स्थिरता सुनिश्चित गर्नु भएकोमा उनले जोड दिए ।

भेनेजुएलामा राष्ट्रपति कार्यकाल छ वर्षको हुन्छ । पछिल्लो चुनाव २०२४ मा भएको थियो । जसलाई विपक्षी दलहरू र धेरै अन्तर्राष्ट्रिय समुदायले विवादास्पद र अपारदर्शी भनेका थिए । त्यसयता देशको राजनीतिक अवस्था थप जटिल बनेको छ । जनवरी ३ मा अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलास मादुरो र उनको पत्नीलाई समातेर अमेरिका लगेपछि सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको थियो । उनलाई सेना र सत्तारूढ समाजवादी पार्टी दुवैले समर्थन दिएका छन् ।

नयाँ चुनावको लागि समय तालिका तय गर्नुअघि सरकारले विपक्षका सबै धारसँग वार्ता र सहमति खोज्ने जर्ज रोड्रिगेजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?