काठमाडौं, पुस २८ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।
आयोगका एक अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएपछि उनेपा समानुपातिक सूची अद्यावधिकका लागि आइतबार आयोग पुगेको थियो।
उनेपाले गत कात्तिक ३० गते दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीको नामबाट सूची बुझाएको छ।
अद्यावधिकका लागि बुझाएको सूचीमा पार्टीका यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायको नाम खसआर्य क्लस्टरतर्फ पहिलो नम्बरमा छ। त्यस्तै, आदिवासी जनजातितर्फ डा. महेन्द्र लावतीको नाम पहिलो नम्बरमा छ।
रास्वपाबाट अलग भएपछि समानुपातिकतर्फ उम्मेदवारी छुट्ने भए पनि उनेपाले बाँसुरी चुनाव चिह्न भएको राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर सूची बुझाएको हो।
यसअघि उनेपाले निर्वाचन आयोगमा १८ जनाको नाम बुझाएको थियो। रास्वपासँग गत पुस १४ गते पार्टी एकता भएपछि ती नाम फिर्ता लिएर रास्वपाकै सूचीमा सूचीकृत गरेको थियो।
रास्वपाले बुझाएको सूचीमा १४ जना मात्र समेटिएका थिए। उनेपाले राष्ट्रिय परिवर्तन पार्टीबाट अद्यावधिक गरेको सूचीमा आफूले पहिले नै राखेका नामहरू मिलाएको आयोगले बताएको छ।
राष्ट्रिय परिवर्तन पार्टीका एक सदस्यले बताए अनुसार समानुपातिकतर्फ बाँसुरी चुनाव चिह्नबाटै मत माग्ने गरी सूची अद्यावधिक गरिएको हो।






