काठमाडौं, १५ आश्विन । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्ने निर्णयलाई ‘मिडिया ट्रायल’ गरिएको जनाएको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रेस विज्ञप्तिमार्फत सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा यस्तो कार्य गरेको आरोप लगाएका छन् । यसअघि, एमाले निकट राष्ट्रिय युवा सङ्घले पनि विज्ञप्ति जारी गर्दै ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथिको प्रतिशोध अस्वीकार्य हुने चेतावनी दिएको थियो ।
अध्यक्ष क्षितिज थेवेले सरकारलाई प्रतिशोधपूर्ण कार्य नगर्न र यस्ता कदम प्रत्युत्पादक हुनेतर्फ सचेत गराएका थिए । प्रेस चौतारीले सरकारको दोहोरो चरित्रमाथि प्रश्न उठाउँदै राहदानी रोक्का र भदौ २४ को हिंसात्मक घटनामा संलग्न दोषीहरूलाई कारबाही नगर्ने निर्देशनले विधिको शासनमाथि हस्तक्षेप भएको ठहर गरेको छ ।




