काठमाडौँ, १२ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड दिएका छन् ।
चेन्ज डिजिटलले काठमाडौँको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आज उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताएका हुन् ।
चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत् खपतका लागि घरायसी, उद्योग, कलकारखानालगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने बताए ।




