काठमाडौं, भदौ २२ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिटलाई सर्वोच्चको प्रशासनले दरपीठ गरेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले १० वटा रिटलाई दरपीठ गर्ने निर्णय भएको बताए।
‘१० वटा निवेदन परेकोमा सबै दरपीठ भएको छ,’ उनले भने।
रजिष्ट्रार मानबहादुर कार्कीले दरपीठ गर्ने निर्णय गरेका हुन्।
सरकारले गत बिहीबार दर्ता हुन नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको थियो।
सर्वोच्चले दरपीठ गरेको निर्णयविरूद्ध पनि सर्वोच्चमै रिट दिन मिल्छ।
सर्वोच्चले सामाजिक सञ्जाललाई कानुन बनाएर नियमन गर्न आदेश दिएको थियो।




