काठमाडौँ, भदौ १२ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा अनिवार्य अवकाशमा जाँदै छन् । तर सत्ताको चलखेलका कारण थापा आफ्नो कार्यकाल बढाउने प्रयासमा मात्र छैनन्, शासकीय प्रणालीमै प्रश्न उठाउने कर्ममा तल्लीन देखिएका छन् ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेमा शीर्ष नेताहरूसँगको सम्बन्ध भजाएर थापा आफ्नो कार्यकाल थप गराउन सक्रिय भएको स्रोतहरू बताउँछन् । यसका लागि गृह मन्त्रालयले कानुन नै संशोधन गर्ने तयारी गरेको छ ।
६ दिनपछि अवकाशमा जान लागेका थापाको कार्यकाल थप गर्न गृहमन्त्री रमेश लेखकसहितको टोली नेपाल प्रहरी नियमावली नै संशोधनको प्रयासमा छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअघि नै संशोधनको प्रयास भएको हो ।
ओली १४ भदौमा चीन जाँदै छन् भने त्यहाँबाट फर्किने दिन १८ भदौमा महानिरीक्षक थापा अवकाश हुनेछन् । त्यसैले, ओली चीन जानुअघि नै सरकार नियमावली संशोधनको तयारीमा रहेको गृह मन्त्रालय स्रोतले बताएको छ । उक्त स्रोतले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच अनौपचारिक सहमतिपछि संशोधनको प्रयास भएको हो । तर, मन्त्रालय मात्र होइन, प्रहरी संगठनभित्रै असन्तुष्टि बढ्न थालेको छ ।




