काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्ने गरी सबै किसानलाई व्यावसायिक भैँसी पालन गराउन, खेतीमा अर्ग्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागरिक संवाद भवनहरू बनाउन, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना गर्न, कीर्तिपुर क्रिकेट रङ्गशाला छिटो निर्माण सक्न, भक्तपुरमा ठुलो रङ्गशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षण गराए ।




