सांसद बूढथापाको स्मृतिग्रन्थ काठमाडौमा लोकार्पण

`

     २०८२ आषाढ १८ गते १२:१८

काठमाडौं । अछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित स्मृतिग्रन्थ एक कार्यक्रमबीच लोकार्पण भएको छ ।

राजनीतिज्ञ एवं समाजसेवी बूढथापाको जीवनी र योगदानमा आधारित स्मृतिग्रन्थ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले स्मृतिग्रन्थ विमोचन गरे। स्मृतिग्रन्थ लोकार्पण गर्दै प्रमुख अतिथि बडूले दिलबहादुर कुँवर बूढथापाको योगदान परिवार समाज र सुदूरपश्चिम क्षेत्र मात्र नभई सिंगो देशको सम्पत्ति भएको बताए ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले अछाम बाजुराका प्रथम सांसद दिलबहादुरका इतिहासको जगेर्ना गर्दै यसलाई लिपिबद्ध गर्नुपर्ने आवश्यकता रहेकोमा उक्त कामले पूर्णता पाएको भन्दै हर्ष व्यक्त गरे ।

पुर्खाको इतिहासलाई सम्मान र संरक्षण गर्दै अघि बढ्न नयाँ पुस्ताका लागि पनि यो ग्रन्थ महत्वपूर्ण हुने उनको विश्वास छ । स्मृतिग्रन्थ सार्वजनिकीकरण समारोहका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर बूढथापाबाट समाजसेवा, भ्रष्टाचार विरोधी अभियानले आफूहरूलाई समेत समाजसेवा गर्ने प्रेरणा मिलेको उल्लेख गरे ।

स्मृतिग्रन्थको समीक्षा गर्दै वरिष्ठ साहित्यकार प्रमोद दाहालले यो पुस्तक इतिहासका विद्यार्थीले पिएचडीमा शोधपत्र गर्न सक्नेस्तरको रहेको बताए ।

सांसद बूढथापाले वि।सं। २०१५ सालको निर्वाचनमा अछाम बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ बाट तत्कालीन सेती महाकालीक्षेत्रमै सर्वाधिक मत ९ हजार ६ सय ५ ल्याएर विजयी भएको भएको थियो । उनी नेपाली कांग्रेस अछामको निर्वाचित प्रथम सभापति समेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?