काठमाडौँ, १६ असार । भक्तपुरको चाँगुनारायण–८ सुडालको सामुदायिक विद्यालय महेन्द्रग्राम माध्यमिक विद्यालयबाट गोमा श्रेष्ठ सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन् ।
सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन्, भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बन्नुभयो । गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आएकी हुन् । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए ।
उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थाले । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उहाँको दैनिकी बन्दै गयो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् ।
गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन् । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताइन् ।




