नागरिक दैनिकलाई धम्की दिएको भन्दै मलाइ आरोप लगायो: आरजु राणा

`

     २०८२ ज्येष्ठ ३१ गते १०:५५

काठमाडौं, जेठ ३० । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले प्रेस काउन्सिलबाट प्रक्रिया नमिल्ने भएकाले पत्रकार दिलभूषण पाठकविरुद्ध आफूहरू सिधै प्रहरीसमक्ष पुगेको बताएकी छन् । पाठकले भ्रामक र तथ्यहीन भिडियो प्रसारण गरेको उनले जिकिर गरेकी छन् ।

उनको युट्युब च्यानल (टफटक विथ दिलभूषण पाठक) कुनै सरकारी निकायमा दर्ता नभएको उनले उल्लेख गरेकी छन् । “उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुनानुसार नै न्याय खोजेका हौँ,” मन्त्री राणाले शुक्रबार ९जेठ ३०० बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

उनले आफ्नो पोस्टमा पाठक र उनको च्यानलको नाम भने उल्लेख गरेकी छैनन् । “उक्त भ्रामक भिडियो पोस्ट गर्नेविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो,” उनले लेखेकी छन्, “यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।”

यहीबारेमा आफूले नागरिक दैनिक पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसित बिहीबार (जेठ २९) टेलिफोनमा कुरा गरेको उनले स्पष्ट पारेकी छन् । तर, नागरिकले टेलिफोन कुराकानीलाई धम्की दिएको भनेर समाचार प्रकाशन गरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।

उनले अगाडि लेखेकी छन्, “तर, हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँ (शोभा ज्ञवाली)ले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।”

मन्त्री राणाले फोन गरेर धम्की दिएको भन्दै नागरिकले शुक्रबार समाचार प्रकाशन गरेको छ । नक्सालस्थित होटेल हिल्टनमा मन्त्री राणा र कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीपुत्र जयवीरको लगानी रहेको ‘रिपोर्ट’ पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए । त्यसपछि जयवीरको उजुरीमा पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको छ । सोही विषयमा समाचार छापेपछि ज्ञवालीलाई मन्त्री राणाले फोन गरेको नागरिकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?