गृहमन्त्रीज्यूले जवाफ दिने होइन, राजीनामा दिने हो : लेखनाथ दाहाल

`

     २०८२ ज्येष्ठ १४ गते १:२६

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो । अब बयान दिने हो क्या, जवाफ दिने होइन । उभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ रु अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन । राजीनामा दिनुपर्छ । राजीनामा हाम्रो प्रष्ट माग छ त्योभन्दा दायाबाँया हुँदैन,’– उनले भने ।

साथै, माओवादीले पदाधिकारी बैठक नै बसेर गृहमन्त्री लेखकको राजीनामा माग गरिसकेको उनले बताए । नेता दाहालले गृहमन्त्रीको अस्वभाविक संलग्नता थिएन भने कर्मचारीलाई अदलीबदली गर्न आवश्यक नै नरहेको उनको भनाइ छ । गृहमन्त्री लेखकले बदमास र बदमासी गर्न सक्ने कर्मचारी छानीछानी राखेको उनको आरोप छ । ‘गृहमन्त्रीको बारेमा, गृह प्रशासनसँग जोडिएको विषयमा हामी प्रष्ट छौं, माओवादीप्रति आशंकित हुनुपर्ने कुनै कारण छैन,’– उनले भने ।

नेता दाहालले गृहमन्त्री लेखक निर्दोष हो भन्ने बुढानीलकण्ठलाई कुनै अधिकार नरहेको बताए । निर्दोष छन् भने सफाइ पाउने र दोषी भए जेल जाने भन्दै उनले गृहमन्त्री लेखकले निष्पक्षता र तटस्थताको जगमा अनुसन्धान प्रक्रियालाई सहयोग गर्न राजीनामा दिनुपर्ने बताए ।

‘निर्दोष छन् भने सफाइ पाउँछन्, कमजोरी छ भने जेल जान्छन् । छानविन प्रक्रियालाई सहयोग गर्न उहाँले राजीनामा दिनुपर्छ । बन्दुक समाइराखेपछि अनुसन्धान प्रक्रियामा प्रभाव पर्छ । निष्पक्षता र तटस्थताको जगमा अनुसन्धान प्रक्रियालाई सहयोग गर्न उहाँले राजीनामा दिनुपर्यो,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?