काठमाडौं, जेठ ११ गते । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको मुख्य काम आफूले नगरेको सो प्रदर्शनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंले बयान दिएका छन् ।
प्रहरीसमक्ष उनले दिएको बयानमा उक्त दिनको आन्दोलनको जनकमाण्डर बनेर आफूले कार्यविभाजन मात्रै गरेको प्रसाईंले बताएका छन् ।
‘आन्दोलन समितिको सदस्य तथा आन्दोलनको जन कमाण्डर भई कार्य विभाजन मात्र गरेको हो । यसको मुख्य काम सबै संगठनलाई मिलाउने, विभिन्न संगठनहरूलाई एक ठाउँमा व्यवस्थित बनाउने काम चाहिँ नवराज सुवेदी, जगमान गुरूङ, अस्मिता भण्डारी, रमा सिंह, कमल थापा, पशुपती शम्सेर राणा लगायतका व्यक्तिहरूले गर्ने हुन्,’ प्रसाईंले बयानका क्रममा भनेका छन्, ‘आन्दोलन परिचालन समितिका संयोजक धवल शम्सेर राणा हुन् । निजको काम आन्दोलनको समयमा आन्दोलनकारीहरू घाइते भएमा घाईतेहरुको उपचार गर्ने र सबै कुराको व्याबस्थापन गर्ने काम गर्ने हो । त्यँसमा मेरो काही केही अन्य कुरा छैन ।’
‘कार्यक्रम सञ्चालन हुनुपूर्व ‘‘नेताको घर दैलो घर दैलो आगो लगाउने हो, अब हामी यहाँ देउसी भैलो खेल्न आको होइन । अब त आगो लगाउने हो अब जय नेपाल जय राष्ट्रवाद” भनि स्टेजमा दिएको मन्तव्यसहितको उक्त भिडियो क्लिपमा देखिएका मन्तव्य दिने व्यक्ति राप्रपाका व्यक्ति हुन् ।’
उनले आफूलाई उक्त मन्तव्य दिने मान्छेको नाम पनि थाहा नभएको बताएका छन् । प्रसाईंले आफूले त्यस्तो कुनै अभिव्यक्ति नदिएको प्रहरीसँगको बयानका क्रममा भनेका छन् ।




