काठमाडौं, वैशाख २८ । सगरमाथा संवादको पहिलो संस्करणका लागि भारत सरकारले सवारीसाधन हस्तान्तरण गरेको छ। सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी साधन उपलब्ध गराएको हो ।
नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन्।
मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि भारतले उपलब्ध गराएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएकी छन्। उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रुपमा रहेकाले यसको समाधानका लागि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन्।
नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तन सम्बन्धी यस क्षेत्रको साझा समस्याको उजागर गर्दै त्यसको समाधानका उपाय खोजीका लागि सामूहिक प्रयत्नको मोडल तय गर्ने जानकारी दिइन्। उनले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन्।




