काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्ग समाज परिवर्तनको आधार र विकासको प्रणेता रहेको बताएका छन् । आज १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए ।
उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको बताए । उनले ठेक्दारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे ।




