काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुपर्ने बताएका छन् ।
‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ’ उनले भने, ‘वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजित र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ । निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ । सामन्ती व्यवस्थालाई पुनःफर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जङ्गली र राक्षसी प्रवृत्ति गलत हो । यस्ता कार्य सह्य हुँदैनन् ।’