काठमाडौ, बैशाख ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आइतबार निवेदन दर्ता गराएका हुन्।
लामिछाने हाल भैरहवा कारागारमा छन्। बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै सहकारी ठगीको मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन्। जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा छाडेकोमा उच्च अदालतले गत २२ चैतमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो। सोही दिन राति प्रहरीले उनलाई पक्राउ गरेको हो।