सबै अध्यादेश दुवै सदनबाट स्वीकृत हुन्छ : प्रधानमन्त्री ओली

`

     २०८१ फाल्गुन ०२ गते १२:३६

काठमाडौं, २ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशहरू दुवै सदनबाट स्वीकृत हुने विश्वास व्यक्त गरेका छन् । सरकारले सहकारीसहित ८ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा दर्ता गरेपनि निर्णयार्थ पेस हुन सकेको छैन । यसैबेला प्रधानमन्त्री ओलीले अध्यादेश पारित हुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएराति साढे १ बजे नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईसहित विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए । सोही क्रममा एक नेताको प्रधानमन्त्री ओलीलाई भूमिसम्बन्धी अध्यादेश सदनबाट के हुन्छ रु भन्ने जिज्ञासामा उनले स्वीकृत हुने जबाफ दिएका हुन् ।

भेटघाटमा सहभागी एक नेताले भने, ‘हामी पार्टी सांगठनिकलगायत विषयमा कुराकानी गर्न बालुवाटार गएका थियौं । कुराकानीका क्रममा एकजना साथीले भूमिसम्बन्धी अध्यादेशबारे प्रधानमन्त्रीज्यूसँग जिज्ञासा राख्नुभयो । जवाफमा प्रधानमन्त्रीज्यूले भूमिसम्बन्धी अध्यादेश पनि राष्ट्रियसभाबाट स्वीकृत हुन्छ भनेर उहाँले भन्नुभयो ।’ सरकारले ल्याएका सबै अध्यादेश सदनबाट पारित हुने विश्वासमा प्रधानमन्त्री ओली रहेको पनि उनले बताए ।

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली भइन्जेल केही हुन्न, बेला आएपछि अध्यादेश टेबल हुन्छ र दुवै सदनबाट पारित हुन्छ ।’ तर, सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल र सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने अडान राखेपछि राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ पेस हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?