हामी संघीयताप्रति एकदमै अनुदार छौँ : गगनकुमार थापा

`

     २०८१ पौष २३ गते २:२२

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।

संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने उनको भनाई थियो । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानुन बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको बताए ।

उनले सबैलाई सरकारमा बस्नका लागि सर्त नराखीकन अघि बढ्ने गरेको बताए । उनले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिने गरी सोच बनाइने गरेको बताए ।

उनले भने, ‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा । जसले जसले यो शासकीय जिम्मेवारी लिन्छौँ । हामी कोही पनि संघीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ । हाम्रो यसमा रुचि छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जे-जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि सर्त राख्दैन । संघीय निजामती विधेयकमा, संघीय प्रहरी विधेयकमा । निजामती विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?