काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको लडाईँ जारी नै रहेको बताएका छन् । आज गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा नयाँ क्रान्ति आवश्यक रहेको र आफूहरु निरन्तर लडाईँमै रहेको बताएका हुन् । देशलाई प्रतिगमनतिर लाने र जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त उपलब्धी जोगाउन आफूहरु लडाइँमै रहेको बताए ।
‘हाम्रो लडाईँ टुङ्गिएको छैन, जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षमा जाँदै थियौं, अहिले प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । हामी क्रान्ति, विद्रोहमा थियौं । उनीहरु सत्तापक्ष थिए, हामी विद्रोहीपक्षमा थियो । अहिले घुम्दैफिर्र्दै परिस्थिति त्यही दिशामा जाँदैछ,’– उनले भने ।




