काठमाडौं, १८ श्रावण । लुम्बिनी प्रदेशका विनाविभागीय ८ मन्त्रीहरुले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसँगै एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए ।
आज बिहान एमालेका मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्रालयको जिम्मेवारी टुंगो लगाएका हुन् ।
सहमतिअनुसार कांग्रेसबाट धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सरोज थापाले सहरी विकास तथा खानेपानी मन्त्रालय, बादशाह कुर्मीले वन तथा वातावरण, प्रचण्डविक्रम न्यौपानेले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसले एक मन्त्री पठाउन बाँकी छ ।
एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमासीता शर्मा चौधरीले जिम्मेवारी पाएका छन् ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राखेका छन् ।