काठमाडौँ, १६ श्रावण । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताएका छन् ।
राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उनले भने, ‘वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।’
नेपाली कांग्रेस र नेकपा (एमाले) यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरुले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न मन्त्री डा। राणाको आग्रह थियो । उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले धेरै कुरा बिचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ ।’