काठमाडौँ, जेठ ९ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ ।
अध्यक्ष यादवले नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु दुर्भाग्यपूर्ण भएको पनि बताएका छन् ।




