काठमाडौँ, १७ फाल्गुन । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएको छ । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए ।
जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो ।
शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा रुइत गृहजिल्ला आउनुभएको सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए ।
आजदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने संघले जनाएको छ ।




