काठमाडौँ, २८ माघ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ ।
माघ २३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा बैंकहरुले गरेको कर्जा लगानी भने ५० खर्ब ८६ अर्ब रुपैयाँ हाराहारी मात्र देखिन्छ ।




