बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसहित ३ जना आज छुट्ने

`

     २०८० माघ २४ गते ११:५०

काठमाडौँ, २४ माघ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज छाड्ने तयारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई आज रिहा गर्न लागेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले बिहीबार उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेपछि ३ जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रथमपटक ४ दिनको म्याद थप गरेको थियो । ४ दिनको म्याद सकिएपछि सीआईबीले सोमबार उनीहरुलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले व्यवसायी चौधरीसहित संजय र अजितनारायणलाई हाजिरी जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?