उपप्रधानमन्त्री खड्कासँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट

`

     २०८० माघ १६ गते ४:१५

काठमाडौँ, माघ १६ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् ।

आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुराउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए ।

उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।

उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए ।

साथै उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दै आएकोमा प्रसन्नता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?