काठमाडौँ, १५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सरकारले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको बताएकी छन् ।
प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ सम्बन्धी बैठकमा मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमले स्वतन्त्र ढङ्गले जनता र सरकारबीचको पुलको काम गर्नुपर्ने धारणासहित प्रस्तावित विधेयक ल्याइएको बताएकी हुन् ।
सञ्चारमन्त्री शर्माले भनिन्, “विगतमा सरकारी सञ्चारमाध्यम भनेपछि सरकारमुखी हुने, जनतामुखी नभएको हो कि भन्ने बुझाइ थियो, हामीले पटकपटक भनेका छौँ सरकारी सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छ । सरकार र जनताकाबीच यी माध्यमले पुलका रुपमा काम गर्नुपर्छ भन्ने अवधारणा विधेयकमा समावेश गरिएको छ ।” उनले विधेयकमाथिको संशोधनका क्रममा समसामयिक, प्रविधिमैत्री एवं थप समृद्ध बनाउन समितिबाट सुझाव आउने अपेक्षा गरिएको बताइन् । “विशेषगरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने भन्ने हो, यो केवल गाभ्ने मात्रै हैन, त्यसलाई अझै उन्नतस्तरको ‘मिडिया’ बनाएर सरकारी मिडियाप्रतिको बुझाइ चिरेर जनउत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको छ”, उनले भनिन् ।




