काठमाडौँ, माघ ७ । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्धामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले दोषी ठहर गरेका हुन् ।
सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको थियो । यस्तै एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको थियो ।
तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। उनको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्नुपर्ने विभागको माग थियो ।
इच्छाराज तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धान गरी उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।




