काठमाडौँ, माघ ५ । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिएका छन् ।
आज बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे ।




