५ पुस । बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेषगरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दूध उत्पादन गर्छन् ।
ब्राहमण समुदायले घरबाटै दूध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दूध बिक्री गर्न पाएका छैन । गाउँमा दूध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ ।
सरोकारवाला निकायले नै चासो नदिँदा दूध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दूध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने बताए ।




