काठमाडौँ, मंसिर २८ । बजारमा महँगी घटेको तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बिहीबार चालु आर्थिक वर्षको चौथो महिनाको समग्र आर्थिक र वित्तीय अवस्थाको विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले बजारमा खुद्रामा २.७ प्रतिशत र थोकमा ८.११ प्रतिशत बिन्दुले महँगी घटेको विवरण सार्वजनिक गरेको हो ।
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चौथो महिनामा समग्र मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको आफ्नो वार्षिक लक्ष्यमा तोकेको विन्दुभन्दा पनि न्यून हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।




