९ सय जनाभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया

`

     २०८० मंसिर २४ गते ४:०४

मंसिर २४ । बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको एउटै आँखा शिविरमा नौ सय जनाभन्दा बढीको मोतियाबिन्दुको निस्शुल्क शल्यक्रिया गरिएको छ।

राजकीय थाई बिहार लुम्बिनीले हरेक वर्षदेखि यस वर्ष पनि आयोजना गरेको शिविरमा ३ हजार ७ सय ५५ जना सर्वसाधारणले निस्शुल्क रूपमा आँखा जाँच गरी लाभ लिएका थिए।

आँखा जाँच गराएकामध्ये नौ सय नौ जनामा मोतियाबिन्दुको समस्या देखिएकोले उनीहरूको निस्शुल्क रूपमा शिविरमै शल्यक्रिया गरिएको राजकीय थाई बिहार लुम्बिनीले जनाएको छ। बिहारका अनुसार गत मंसिर १८ गतेदेखि २२ गतेसम्म निस्शुल्क शिविर सञ्चालन गरिएको थियो।

तिलगंगा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र थाइल्याण्डका नेत्ररोग विशेषज्ञ डा अनुचित पोनाथ्याङको नेतृत्वमा गरिएको शिविरमा थाइल्यान्डका नेत्ररोग विशेषज्ञहरू डा नवत वातानाची, डा स्वात कौशाकुललगायत थाइल्याण्ड र नेपालका नेत्र प्राविधिकहरू बिरामीहरूको शल्यक्रिया र उपचारमा खटिएका थिए।

शिविरबाट विशेषगरी रूपन्देहीको लुम्बिनी, कपिलवस्तु र पश्चिम नवलपरासीको रामग्रामका बासिन्दाले लाभ लिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?