ललितपुर, १५ मङ्सिर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गर्ने बताएका छन् ।
बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेन्डर आह्वान गर्ने बताए ।
उनले उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्न महानगर लागिपरेको बताए । उनले महानगर क्षेत्रकै ७।९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने बताए ।




