काठमाडौँ, मङ्सिर १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
आज बालुवाटारमा पूर्वाञ्चल विश्वविद्यालयको ३७औँ सभा–बैठकलाई सम्बोधन गरेका दाहालले देशका सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई ब्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने चुनौती र समस्याहरूको समाधानका लागि सोच्नुपर्ने धारणा राखे । सो कार्यक्रममा उनले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विश्वविद्यालय जानुपर्नेमा जोड दिए ।
उनले भने, ‘विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ। ’
विश्वविद्यालयहरू सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने उनको भनाई छ ।




