काठमाडौँ, कार्तिक १ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५.९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६.२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।
पहिलो त्रैमासिक अवधिमा २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६.२ प्रतिशत बराबर हो ।
यो अवधिमा सरकारले चालुतर्फ १८.६९, पुँजीगततर्फ ५.९ र वित्तीय व्यवस्थातर्फ १६.५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा रू दुई खर्ब १३ अर्ब ३९ करोड बराबर खर्च भएको छ ।
त्यस्तै, पुँजीगत शीर्षकमा रू २ खर्ब २ अर्ब ७ करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म रू १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ ।