काठमाडौँ, १८ आश्विन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज (बिहीबार) विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा बझाङ, बाजुरा लगायत जिल्लाका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए।
प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए।
बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको थियो। त्यसपछि बझाङमा पटकपटक पराकम्पन आएका थिए।




