काठमाडौँ, असोज १५ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ ।
सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी दिए ।
विमानस्थल विस्तारका लागि बजेट विनियोजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कार्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निर्देशन दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको उनले बताए ।
मन्त्रालयले विमानस्थल विस्तारका लागि चार करोड बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष रू एक करोड बजेट विनियोजन गरिएको थियो ।
उक्त बजेट खर्च नभएर फ्रिज भएको जिल्लास्थित उड्डयन कार्यालयले जनाएको छ । लामो समयदेखि विमानस्थल विस्तारको बहस चले पनि काम हुन सकेको थिएन ।
चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले रू चार करोड ४२ लाख ४७ हजार सात सय ८७ विनियोजन गरेसंँगै काम अगाडि बढाउन सकिने तामाङको भनाइ थियो ।
जुम्ला विमानस्थल हाल छ सय ७० मिटर लम्बाइ, २० मिटर चौडाइसम्म छ ।




