प्रधानसेनापति प्रभुराम शर्मा ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा हुन भारत जाने

`

     २०८० आश्विन ०५ गते १२:५६

काठमाडौँ, असोज ५ । प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली जाने भएका छन् । भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने भएका हुन् । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो ।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नियमित रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा हुने सहभागिताबाट मित्रराष्ट्रहरूका सैन्य सङ्गठनहरूबीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने एवं मानवीय सुरक्षाका साझा चासोका विषयहरूमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुने छन् भने नेपाल सहित १५ देशका सेनापतिहरू सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बङ्गलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मङ्गोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू सम्मेलनमा सहभागी हुन दिल्ली आउने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?