काठमाडौँ, असोज ४ । नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।
“कारागारको संरचना जीर्ण छन् । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्”, उनले भने, “जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षाको जोखिम बढेको छ ।”
नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ढल निकासको व्यवस्था नभएकोले कारागार वरिपरिको वातावरण दुर्गन्धित छ ।




