काठमाडौं, भदौ ३१ । काठमाडौं जिल्ला अदालतमा ६० किलो सुन प्रकरणको मुद्दा दर्ता भएको छ।
आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका र फरारसहित गरी २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो।
यस प्रकरणमा संगठित निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो।
६० किलो ७१६ ग्राम सुन प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष थियो। तर कतिपय फरार व्यक्तिहरूको पहिचान नखुलेको र पक्राउ परेका व्यक्तिहरूमध्ये पनि कतिपयको संलग्नता नभएको भन्दै सिआइबीले नै मुद्दा अघि नबढाउन राय दिएको थियो।




