प्रधानमन्त्री न्यूयोर्क जानुअघि मन्त्रिपरिषद बैठक बस्दै

`

     २०८० भाद्र २९ गते १०:१५

काठमाडौँ, २९ भाद्र । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क र चीन भ्रमणका एजेण्डालगायत विषयमा छलफल गर्न दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भोलि शनिबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दैछन् । त्यसअघि मन्त्रिपरिषद बैठक बस्न लागेको हो । असोज ३ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन् ।

त्यस्तै असोज ४ गते प्रधानमन्त्रीले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र जलवायु महत्त्वाकांक्षालगायत शिखर सम्मेलनमा पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यहाँ उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?