चीन भ्रमणमा नजाने मेयर बालेन

`

     २०८० भाद्र १४ गते १:३६

काठमाडौं, भदौ १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्।

बालेनले लेखेका छन् – हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं।

केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ।

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं।

त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।

मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले भने व्यस्तताका कारण चीन भ्रमणमा नगएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?