अफ्रिकी देश गाबोनको सेनाले पनि सत्ता हातमा लियो

`

     २०८० भाद्र १३ गते १:२९

काठमाडौँ, भदौ १३ । नाइजरपछि अब सेन्ट्रल अफ्रिकी देश गाबोनमा पनि सेनाले विद्रोह गरेको छ । देशको सेनाले निर्वाचनलाई खारेज गरेर सबै सरकारी निकाय विघटन गरेको घोषणा गर्दै सत्ता आफ्नो हातमा लिएको छ ।

यससँगै सबै सीमा नाका पनि सिल गरिएको छ भने सरकारी सञ्चारमाध्यम गाबोन २४ मार्फत सैन्य अधिकारीहरूले निर्वाचनमा विश्वास नभएकोले यस्तो कदम चालेको बताएका छन् ।

अगस्ट २७ मा भएको विवादित चुनावपछि राष्ट्रपति अली बोङ्गो ओन्डिम्बाले तेस्रो कार्यकाल जितेको घोषणा गरिएको थियो । यसको ३ दिनपछि सेनाले सत्ता हातमा लिदै देशमा शान्तिका लागि वर्तमान सरकार हटाएको घोषणा गरेको छ । गाबोनका सबै रक्षा र सैन्य बलको सहमतिमा यो निर्णय लिइएको अधिकारीहरूले बताएका छन् ।

रोयटर्सका अनुसार कूको घोषणापछि गाबोनको राजधानी लिब्रेभिलमा पनि गोली चलेको आवाज सुनिएको थियो । यद्यपी हालसम्म देशको सरकार वा अन्य कुनै अधिकारीले यसबारे कुनै वक्तव्य जारी गरेका छैनन् । गाबोनमा शनिबार कर्फ्यू र निर्वाचनका कारण तनावको वातावरण बनेको थियो । परिवर्तन र बोङ्गो शासनको अन्त्यको लागि विपक्षीहरूबाट निरन्तर मागहरू थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?