काठमाडौँ, भदौ ५ । १५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा जेल चलान भएका छन् ।
मङ्गलबार बिहान स्थानीय समय अनुसार ९ बजे निजी जेटबाट सिङ्गापुरबाट बैंककको डोन मुयाङ विमानस्थलमा अवतरण गरेका शिनावात्रालाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो ।
अदालतमा पेश गरेपछि उनलाई जेल चलान गरिएको थाई मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई आठ बर्षको लागि जेल चलान गरिएको बताइएको छ ।
थाक्सिन २००१ मा सत्तामा आएका थिए भने पाँच वर्षपछि २००६ मा पुनस् विजयी भएका शिनावात्रा सेप्टेम्बर २००६ मा न्यूयोर्कमा संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने तयारी गर्दै गर्दा थाइल्याण्डमा सेनाले सत्ता कब्जा गरेको थियो ।
त्यसपछि उनलाई शक्तिको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । त्यसयता उनले आफूलाई राजनीतिबाट टाढा राखेका थिए । त्यसपछि दुबईमा बस्न थालेका शिनावात्रा करिब १५ वर्षपछि फर्किएका हुन् ।
सन् २००६ मा राजनीतिमा कूपछि थाइल्याण्डको राजनीतिमा उथलपुथल भएको छ ।




