काठमाडौँ, ३१ असार । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतवार काठमाडौँको माइतीघरमा भेला भइ सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।
हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाइने र सोहीअनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताए ।
उनीहरुले श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गर लगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।




