एमाले अध्यक्ष केपी ओलीले पार्टीका उपाध्यक्षहरूसँग आज पनि छलफल गर्दै

`

     २०८० आषाढ २८ गते १०:३४

काठमाडौं, असार २७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल थालेका छन्। पार्टी संगठन सुदृढीकरण र परिचालनका लागि छलफल थालेको उपाध्यक्षहरूले बताएका छन्।

अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल थालेका हुन्।

अध्यक्ष ओलीले बुधबार पनि उपाध्यक्षहरूसँग छलफल गरेका थिए।

‘हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीताको निधन भएका कारण विषयमा आधारित भएर छलफल गर्न पाइएन,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘आज पनि दिउँसो २ बजेपछि हामी बस्छौं। समसामयिक मुलुकको अवस्था, पार्टीको सांगठनिक जीवनबारे छलफल गर्छौं।’

एमालेले ३० गते सचिवालय बैठक बोलाएको छ। बैठकको कार्यसूची तय गर्न पनि यसले सघाउ पुर्‍याउने शाक्यले बताइन्।

‘अध्यक्षले सुरूआत गर्नु भएको छ। छलफलले सामुहिकताको भावना जगाउँछ। पार्टीका योजना तय गर्न पनि सजिलो हुन्छ,’ उनले भनिन्।

पार्टीमा सम्वाद, छलफल कमजोर बन्दै गएको गुनासो बढेपछि अध्यक्षले उपाध्यक्षसँग पनि छलफल थालेको एक नेताले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?