काठमाडौँ, असार १९ । सरकारले कांग्रेसका दिंवगत नेता गिरिजाप्रसाद (जीपी) कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कोइरालाको शतवार्षिकी समारोह तथा जीपी कोइराला मेमोरियल कलेजको १२ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै सरकारले विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन् ।
जीपी कोइराला मेमोरियल कलेजको १२ औं वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर स् प्रदीपराज वन्तररासस
कांग्रेस नेता तथा सांसद शेखर कोइरालाले विश्वविद्यालय स्थापनाका लागि गत माघमा प्रधानमन्त्री कार्यालयमा आवेदन दिएका थिए । जीपी कोइराला कलेजलाई नै विश्वविद्यालय बनाउने वा छुट्टै विश्वविद्यालय स्थापना गरेर कलेजलाई आंगिक बनाउने विषयमा छलफल चलिरहेको छ । कलेज सञ्चालक र जीपी कोइराला फाउन्डेसनले भने छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘गिरिजाप्रसादका नाममा बाटो, हस्पिटल, विश्वविद्यालय बन्दा प्रचण्डको पनि नाम जोडिन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अब विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्छ ।’




